नेपालमा दशैंको सान्दर्भिकता मूलतः राजनीतिक अर्थमा छ । पछि आएर चाँहि दशैंले सामाजिक रुप लिएको हो । बली दिएर पूजाआजा गरिने भएकाले दशैंको सन्दर्भ राजनीतिक रुपमा जोडिएको छ । हिन्दु राज्यको बिस्तारमा आदिवासी जनजातिलाई समाहित गर्न दशैं मान्नैपर्छ भनेर उनीहरुलाई बाध्य पारियो । हिन्दु सत्ताले दशैं मान्नैपर्छ भनेर आदेश र हुकुमहरु समेत जारी ग~यो । सत्तामा रहनेहरुले भैंसी, राँगा, खसीको बली दिँदै दशैं मनाउनुको अर्थ पनि हिन्दु राज्यको बिस्तार र हैकम नस्वीकार्ने तथा चुनौती दिनेहरुलाई प्रतिकात्मक रुपमा डर देखाउनु समेत हो । केन्द्रीय सत्ता निर्माणको क्रममा उनीहरुले आफ्ना वरिपरीकालाई आशिर्वाद दिने नाममा उस्को हैकम र अधिनस्थतालाई स्वीकार गर्न लगायो । स्थानीय सत्ताधारीहरुले पनि आफ्नो हैकम र अधिनस्थतालाई कायम राख्न बलीपूजा गरेर या आशिर्वाद दिएजस्तो गरे । केन्द्रीय सत्ताकै चलाखि अनुरुप स्थानीय सत्ताधारीले पनि आफ्नो अधिनस्थता आसेपासेलाई स्वीकार्न बाध्य पारे ।
दशैं आदिवासी जनजातिको सांस्कृतिक र राजनीतिक चाड होइन । तर आदिवासी जनजातिले पनि दशैं मनाउनुको कारण चाँहि केन्द्रीय सत्ता (हिन्दु राज्य)ले आफ्नो हैकम र अधिनस्थता स्वीकार्न लगाएजस्तै स्थानीय सत्तामा रहेकाले आफ्नो हैकम र अधिनस्थतालाई कायम राख्ने क्रममा बाध्य पारेर हो । यो मान्ने र मनाउने क्रममा एक किसिमको सामाजिक सम्बन्धहरुको विकास भने भएको छ । लिम्बूहरुकै कुरा गर्दा पनि दशैं नमान्ने भनेर उनीहरुलाई उम्किने ठाउँ नै थिएन । कसरी भने दशैं सकिएलगत्तै हिन्दु सत्ताले पठाएका दूतहरु गाउँगाउँमा जाने र दशैं मनाए कि मनाएनन् ? राँगा बली चढाएर त्यस्को रगतको पञ्जा–छाप घरको ढोका/भित्तामा लाएर राखेका छन् कि छैनन् ? त्यो निरन्तर निरीक्षण भइरह्यो । खासमा त्यो जबरजस्तीपूर्वक नै भएको थियो । रणबहादुर शाहको पालामा दशैं मनाउनैपर्छ भनेर लिम्बूहरुलाई विशेष इस्तिहारहरु जारी भएको प्रमाणहरु भेटिन्छन् । सुब्बाहरुले बली दिए नदिएको, बलीपछिको रगतको पञ्जाछाप लाएको छ कि छैन भनेर निरीक्षण गर्न केन्द्रीय सत्ताले आदेश नै जारी गरेको थियो । त्यस्माथि आफ्नो हैकम कायम रहने भएकाले स्थानीय सत्ताधारीले पनि अझै तलकालाई दशैं स्वीकार्न बाध्य पारे । त्यस्ले राजनीतिक र सांस्कृतिक रुपमा आफ्नो पर्व नभए पनि आदिवासी जनजातिले सामाजिक रुपमा चाँहि दशैं मान्न थाले ।
आख्यानहरुमा सूर शक्ति (देउताहरु)ले असूर शक्ति (राक्षसहरु)माथि विजय प्राप्त गरेको खुशियालीमा दशैं मनाइएको भन्ने छ । देव शक्तिको रुपमा आर्यहरु र राक्षस शक्तिको रुपमा अनार्यहरु हुन् भन्ने उनीहरुकै व्याख्याहरुले देखाउँछ । अर्कोतर्फ आदिवासी जनजातिहरु माझ पनि आफ्नै पुर्खाको हत्या गरेर रगतको रातो टिका दशैंमा लगाइएको हो भन्ने मिथक व्याप्त छ । झट्ट हेर्दा त्यो होइन कि जस्तो देखिए पनि ऐतिहासिक र राजनीतिक घटनाक्रमहरुले त्यो मिथकभित्र वास्तविकता उजागर भएको भेटिन्छ । खासगरी हिन्दुहरुले अहिन्दुहरुमाथि विजय प्राप्त गरेको उल्लासमा दशैं मनाइएको कुरालाई आदिवासी जनजातिले मिथक श्रृजना गरेको देखिन्छ । त्यै मिथकको विश्वासमा आदिवासी जनजातिले दशैंमा सेतो टिका लगाउने गर्छन् । उनीहरुले दशैं मनाउनुलाई गलत भनिहाल्नु चाँहि हुन्न । तर दशैं निरन्तर मनाइरहनुले हिन्दु राज्य बिस्तारको प्रक्रियालाई अझै पनि स्वीकारिरहन्छौं भन्ने सन्देश गइरहन्छ ।
दशैं सांस्कृतिक र धार्मिक पर्व होइन । दशैं सत्ताधारीको पर्व हो । स्थानीय सत्तामा रहन पाएकाले आदिवासी जनजातिले दशैं मनाएका हुन् । तर उनीहरुले आफ्नै सामाजिक परिवेशमा ढालेर मात्रै दशैं मनाएका छन् । उनीहरुले सुँगुरको मासु, जाँड, रक्सी (हिन्दुहरुका लागि अपवित्र) चढाउने र त्यस्को कोसेली बाँडचुँड गरेर दशैं मनाएको देखिन्छ । यसहिसाबले आदिवासी जनजातिले दशैं मनाएजस्तो त देखिन्छ । तर त्यो खासमा बहिष्कार नै हो । रुपमा दशैं मनाइरहे पनि आदिवासी जनजातिले सारमा चाँहि बहिष्कार नै गरिरहेका छन् । हिजो हिन्दु अधिराज्यको बिस्तार, हैकम र त्यस्को अधिनस्थताको स्वीकारोक्तीका प्रमाण स्वरुप जनावरको बली चढाएर दशैं मान्ने चलन बसेको हो । अहिले ऐतिहासिक प्रमाण र पहिचानका आधारमा संघीय प्रान्तहरुको निर्माण हुनुपर्छ भन्ने बहस चलिरहेको बेला दशैंको बहिष्कार गरिनु सान्दर्भिक देखिन्छ । अर्कोतर्फ हिजोको एकात्मक हिन्दु सत्ताले जबरजस्ती थोपरेको व्यवस्थालाई चुनौती दिन पनि दशैं बहिष्कार अर्थपूर्ण छ ।
अहिले दशैं बहिष्कारको आन्दोलन कमजोर भएको भन्ने भनाई सहि होइन । बरु त्यो सफल भएको हो । हिन्दु धार्मिक, एकात्मकता, अधिनस्थता हामीलाई स्वीकार्य छैन भनेर आदिवासी जनजातिले आफ्नै विशिष्ट चाडपर्व मनाउन थालेका छन् । त्यस्ले पनि दशैं बहिष्कारको आन्दोलन सफल भएको देखिन्छ । गैर हिन्दुहरु एकढंगले एकतावद्ध हुनुलाई पनि आन्दोलनको सफलता भन्नुपर्छ । बरु त्यो आन्दोलनले बिस्तारै ठोस आकार लिदैँछ । दशैं बहिष्कार आन्दोलनको अगुवाई गर्ने गोरेबहादुर खपांगीले दशैंमा टिका लगाउनु व्यक्तिगत आकांक्षा हो । तर उन्को त्यो कदमले आन्दोलनमै असर पारेको छ भन्न मिल्दैन । बरु व्यक्तिगत तहमा खपांगीलाई नै असर प~यो । दशैं बहिष्कार आन्दोलनका अगुवाले नै टिका लगाउन थाले । त्यो ठीक होइन रैछ भनेर आदिवासी जनजातिले दशैं बहिष्कार गर्न छाडेनन्, नेताले नै बाटो बिराए पो भने त !