१. गोसाईकुण्ड
बागमती अञ्चलको रसुवा जिल्लामा पर्ने हिन्दुहरुको पवित्र तीर्थस्थलको रुपमा रहेको गोसाईकुण्ड समुद्र सतहदेखी ४३६० मिटरको उचाइमा अवस्थित छ । चारैतिरबाट मनोरम पहाडहरुले घेरीएको यो ठाउँ अति नै सुन्दर र रमणिय छ । यहाँ जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ । भगवान शिवले त्रिशुल प्रहार गरी निस्केको पानी जम्न जाँदा यो कुण्ड निर्माण भएको विश्वास गरिन्छ । गोसाईकुण्डका अतिरिक्त यहाँ सरस्वतीकुण्ड‚ भैरवकुण्ड‚सूर्यकुण्ड‚ गणेशकुण्ड लगायतका ९ वटा कुण्डहरु रहेका छन् । नेवारहरु गोसाईँकुण्डलाइ शिलुतीर्थ भन्ने गर्दछन् । त्रिशुली नदीको उत्पति यही गोसाईँकुण्डबाट भएको हो ।
मनोरम र रमणीय पवित्र तीर्थस्थल बराह क्षेत्र कोशी अञ्चलको सुनसरी जिल्लामा कोशी नदी र कोका नदीको संगमस्थलमा रहेका छन् । यहाँ गणेश बराह‚ गुरु बराह‚ सूर्य बराह‚ कोका बराह‚ इन्द्र बराहका मन्दिर तथा लक्ष्मी मन्दिर लगायत ९ वटा मन्दिर र धर्माशालाहरु रहेका छन् । कोका नदीको संगममा श्राद्ध गर्दा गयाको फाल्गु श्राद्धको फल मिल्ने यहाँ अस्थि विसर्जन गरेमा गंगा नदीमा गरे सरहको फल मिल्ने जनविश्वास रहेकाले यस ठाउँमा अस्थि विसर्जन गर्ने तथा श्राद्ध गर्ने गरिन्छ । महाभारत महाकाव्य तथा पुराणहरूमा महिमा गाइएको कोकाहा र कोसी नदी संगममा पर्ने यो धार्मिक देवस्थल अनन्तकालदेखि पुजनीय रहँदै आएको छ। कथाअनुसार भगवान् विष्णुको दशावतारमध्ये तेस्रो अवतार बराहको उत्पति यही भएको थियो। यहाँ प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशी, माघे संक्रान्ति, ऋषि पञ्चमी, फागुपूणिर्मालगायत अन्य एकादशीहरूमा स्वदेशी एवं विदेशी तीर्थयात्रीहरूको मेला नै लाग्छ । बराहक्षेत्रको माथिको डाँडामा चौदण्डीकोट छ । जहाँ सेनवंशी राजाहरुको गढ थियो ।
३. स्वर्गद्वारी
स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ। स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई,महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ ।वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ । समुद्री सतहबाट दुई हजार १ सय २१ मिटर अग्लो स्थानमा रहेको स्वर्गद्वारीको हावापानी, प्राकृतिक सुन्दरता, ऐतिहासिक मनोरम तलाउ, आश्रमको यज्ञशालाको दक्षिण भू–भागमा रहेको ठूलो बाँझको बोट, महाप्रभुले तपस्या गर्ने गरेको गुफा, वि.सं. १९५२ देखि सञ्चालनमा आएको वेद पाठशाला, गोवर्द्धन पहाड, विभिन्न मठमन्दिरलगायतका स्थल मुख्य आकर्षण छन् । वि.सं. १९५२ मा वेदमन्त्रद्वारा प्रकट गरेको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीको विशेष आकर्षणका रूपमा मानिएको छ । वि.सं. १९५० तिर त्यहाँ उत्खनन् गरी पूजा सामग्री फेला पारी आश्रम निर्माण गरिएको इतिहासमा उल्लेख छ । उक्त पूजा सामग्री महाभारत कालमा पाण्डवले यज्ञ गर्दाको हो भन्ने पनि किंवदन्ती छ । स्वर्गद्वारीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने प्रबल सम्भावना छ । स्वर्गद्वारीमा तयाँका महाप्रभुले विक्रमलको विसौं सताब्दीको अन्त्यतिर सुरु गरेको अखण्डयो .महायज्ञ तथा होम अहिले पनि सञ्चालनमा रहेको पाइन्छ ।
३. मुक्तिनाथ
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ 'सय पानी') भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्णव संप्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्रामभगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रुपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ मन्दिर अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यहाँ ऋषितर्पणी‚ रामनवमी र बडादशैमा ठूलो मेला लाग्ने गर्दछ । जनै पूर्णिमाको दिन बौद्धमार्गीहरुको यारतोङ मेला लाग्छ । रमणीय पर्यटक स्थल समेत रहेको मुक्तिनाथमा निरन्तर बलिरहने ज्वाला‚ १०८ पानीका धारा‚ अवलोकितेश्वरको मुर्ति तथा गुम्बाका साथै दक्षिण-पश्चिम भागमा ज्वालामाईको मन्दिन (गोन्पा) तथा श्री ५ रणबहादुर शाहकी माहिलो राजी सुवर्ण प्रभाले बनाएको रानी पौवा रहेको छ ।
४. हलेसी महादेव
हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो। यो सगरमाथा अञ्चल खोटाङ जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिममा रहेको महादेवस्थान गाउँ विकास समितिमा पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म, बौद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे,तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला) ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने,निरोगी हुने जनविश्वास छ। भष्मासुरले महादेवलाई भष्म पारी पार्वतीलाई आफ्नो बनाउने दुरासयले महादेवलाई लखेट्दै जाँदा महादेव यहाँको गुफामा लुकेर आफ्नो प्राण रक्षा गरेको भन्ने पौराणिक किंमदन्ती रहेको छ । यहाँ राम नवमी‚ बालाचतुर्दशी तथा महाशिवरात्रीका दिन यस ठाउँमा विशेष मेला लाग्दछ ।
५. चाँगुनारायण
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले वि.सं. ३८० मा उपत्यकामा चार नारायणको स्थापना गर्ने क्रममा चाँगुनारायणको निर्माण गरिएको भन्ने आख्यान पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ। भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । .
६. चन्दननाथ मन्दिर
चन्दनथाथ मन्दिर जुम्ला जिल्लामा रहेको छ । भगवान दत्तात्रेयले मूर्ति रहेको यस मन्दिरमा दिनमा तिनपल्ट (विहान‚ मध्यान्ह र साँझ) पूजा गरिन्छ । चन्दननाथले निर्माण गरेकाले यसलाई चन्दननाथ मन्दिर भनिन्छ । चन्दननाथले दक्षिण भारतबाट धानको बीउ जटामा बाँधेर ल्याई जुम्लाको जिउलोमा रोपेका थिए । आठौं शताब्दीमा निर्मित यस मन्दिरमा योगी (गिरी‚पुरी) समुदायका पुजारी रहने चलन छ । शिवरात्री र कृष्ण जन्माष्टमीमा यहाँ विशेष मेला लाग्दछ । यो मन्दिरसँगै बटुक भैरवको मन्दिर पनि रहेको छ ।
७. जानकी मन्दिर
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्यातीप्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ | सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधिअनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् । प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमा रहेको छ
८. छिन्नमस्ता भगवति
छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता को सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा नेपाल र भारतका आमजनमानसको ठूलो आस्था रहेको छ । यो मन्दिर सप्तरी सदरमुकाम राजविराजबाट १० किमी को दुरीमा रहेको छ । यो मन्दिर भारतीय सीमा नजिक रहेको छ । यस मन्दिरमा हिन्दूहरूको महान चाड दशैंमा ठुलो घुइंचो लाग्ने गरेको छ । प्राचिन इतिहास र किवंदन्ती का अनुसार, सन् १०९७मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटली पुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा) मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए। उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए। त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ। देवीको शीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो ।
No comments:
Post a Comment