ADS

Wednesday, April 15

राजाकाे स्वागत मञ्चदेखि प्रधानमन्त्रीकाे कुर्सीसम्म सूर्यबहादुरकाे ६० वर्षे राजनीतिकाे कथा

surya bahadurकाठमाडौ, वैशाख ३ - ८९ वर्षकाे उमेरमा गए राति निधन भएका सूर्यबहादुर थापा ६० वर्षदेखि राजनीतिमा अनवरत थिए । हरेक संक्रमणकालका बेला प्रधानमन्त्रीको उम्मेदवारीमा उनको नाम आउँथ्याे । बिरामी हुँदाका बखतबाहेक यिनले कुनै दिन थकाइ मारेनन् । 
विसं १९८४ चैतमा जन्मेका थापाको २५ वर्षअघि नै 'ओपन हर्ट सर्जरी' भएको थियो । केही वर्ष भयो, अचेत अवस्थामा नर्भिक र न्युरो अस्पताल पुग्दै, तङ्ग्रिदै राजनीतिको केन्दबिन्दुमै आइपुगिरहेका थिए– सूर्यबहादुर थापा ।
बुधबार राति भने नयाँ दिल्लीकाे मेदान्त अस्पतालबाट उनले सदाका लागि थकाइ मारे । खासमा काे थिए सूर्यबहादुर ? राजाकाे जिल्ला भ्रमण गतिलाे स्वागतद्वार र मञ्च निर्माण गरेकाे उनकाे आँखामा परेका उनी कसरी देशकाे छ पटक प्रधानमन्त्री भए ?
स्वागतद्वार बनाउने प्रतिस्पर्धा
२०१२ मा भारतको अलाहवादबाट 'ग्य्राजुएट' गरी फर्केपछि सूर्यबहादुर जागिरे जीवनको कल्पनामा थिए । तर उनलाई जागिरे जीवन प्रवेशमा सफलता मिलेन । उनी अब के गर्ने भन्ने द्विविधामा रुमल्लिइरहेका बेला २०१३ फागुनमा राजा महेन्द्र पूर्वी नेपालको भ्रमणमा आए ।
सूर्यबहादुरलाई जुक्ति फुर्‍यो । राजालाई खुसी पार्ने योजनाअनुरूप उनले धनकुटाको पाख्रीबासमा भव्य स्वागत द्वार र मञ्च बनाए । तत्कालीन जमिन्दार वर्गका थापाले मञ्च डिजाइनर काठमाडौंबाटै झिकाए र आकर्षक बनाए । त्यो स्वागतद्वार र मञ्चको सजावट पूर्वी नेपालमा चर्चाको विषय बन्यो ।
धनकुटाकै हिलेमा अर्का जमिन्दार नगेन्द्रप्रसाद रिजालले अर्को स्वागतद्वार बनाएका थिए । प्रतिस्पर्धामा थापा अग्रपंक्तिमा उभिए । पछि गएर थापा र रिजाल दुवै पञ्चायतका प्रधानमन्त्री बने ।
२०१३ फागुनको त्यो भ्रमणमा भेट भएपछि राजा महेन्द्रले सूर्यबहादुरलाई काठमाडौं आएर भेट्ने आदेश दिए । उनले आदेशको पालना गरे । यसबापत उनी २०१४ मा 'सल्लाहकार परिषद्'को सदस्य मनोनीत मात्र भएनन्, त्यसको अध्यक्षसमेत बने । यसले जागिरको 'जुगाड'मा रहेका थापामा राजनीतिक आकांक्षा जगाइदियो ।
२०१५ को पहिलो आम निर्वाचनमा सांसद उम्मेदवार बने, धनकुटा दक्षिण-पश्चिम निर्वाचन क्षेत्र नम्बर २२ बाट । तर, कांग्रेस उम्मेदवार लीलानाथ पाध्यासँग १२ सय ६ मत अन्तरमा पराजित भए । एउटा चुनाव हार्दैमा राजनीति सिद्धिंदैन भनेझैं यिनको आकांक्षा पनि मरेन ।
दुई तिहाई बहुमत ल्याएको कांग्रेसले यिनलाई भाउ दिने कुनै थिएन । तर, कूटनीतिक राजा महेन्द्रले यिनलाई छोडेनन् । २०१७ सालको 'कु' योजनाको पहिल्यै जानकारी पाउने केही भित्रियामा यिनी सामेल थिए ।
२०१७ सालकाे महेन्द्रकाे भाषण लेखक
दरबारिया वृत्तका मानिसहरूका अनुसार, '२०१७ मा संसदीय पद्धति र निर्वाचित सरकार विघटन गर्ने राजा महेन्द्रको भाषण नै थापाले तयार गरेका हुन् । उनले लेखेको भाषणको एक अक्षर पनि फरक नपारीकन महेन्द्रले पढेका हुन् ।' तर औपचारिक तहमा कसैले पनि यो भाषणकर्ताबारे खुलाएका छैनन् र थापाले पनि कहीँ कतै उल्लेख गरेका छैनन् । उनकाे आत्मकथा प्रकाशनकाे तयारी भइरहेकाे थियाे । त्यसमा यसबारे उनले केही उल्लेख गरेका छन् कि ?
पञ्चायत थापाका निम्ति भाग्य खोल्ने मेसिनका रूपमा आयो । उनी वरीयतामा चौथो नम्बरको मन्त्री बने । पहिलोमा तुलसी गिरि, दोस्रोमा विश्वबन्धु थापा, तेस्रो हृषिकेश शाह थिए । पछि मन्त्रिपरिषद् उपाध्यक्ष, अध्यक्ष हुँदै २०२३ चैत १५ मा पञ्चायती व्यवस्थाको पहिलो प्रधानमन्त्री बन्ने अवसर पनि थापालाई मिल्यो ।
उनी २०२५ चैत २५ मा प्रधानमन्त्रीबाट बाहिरिएपछि भने यिनलाई फेरि सत्ता प्राप्ति गर्न बाह्र वर्ष कुर्नुपर्‍यो । अर्थात्, २०३६ को जनमतसंग्रह गर्ने र पञ्चायतलाई बलियो बनाउने जिम्मा यिनले पाए ।    
पञ्चायतकै विराेधमा जेलबीपीलाई फाँसीकाे माग
पञ्चायतले सूर्यबहादुरलाई सत्ताको स्वादमात्र चखाएन, १४ महिना जेलको बास पनि गरायो । जनताप्रति उत्तरदायी सरकारको गठन गर्नुपर्ने, दरबारका कर्मचारीलाई राजनीतिमा हात हाल्न दिन नहुने, दरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने जस्ता १३ वटा मागसहित २०२९ वैशाख ३१ का दिन इटुम्बहालमा भाषण गरेकै दिन पक्राउ परे- त्यो पनि मध्यरातमा ।
उनको भाषण कांग्रेसी नेताको भन्दा चर्को थियो, 'अधिकार मागेर पाइँदैन, संघर्ष गर्नुपर्छ । बिदेसिएका राजनीतिकर्मीहरूलाई फिर्ता ल्याउने वातावरण सिर्जना गर्नुपर्छ ।' साथमा थिए, डा. प्रकाशचन्द्र लोहनी, रत्नप्रसाद खरेल र कृष्णप्रसाद भण्डारी ।
आफैंले निर्दलीय थपेको पञ्चायती व्यवस्थाविरुद्ध थापाले २०२९ पुसमा जेलभित्रै विरोधी रूप देखाए । आफूसँगै जेलमा रहेका खरेललाई होम गर्न लगाई 'कालो तिलक' लगाए । तर, त्यसको सात वर्षपछि जनमतसंग्रहमा त्यही व्यवस्थालाई जिताउने नेतृत्वकर्ता बने ।
थापा चौध महिनापछि रिहा भए भने लोहनीलगायत १७ महिना जेल बसे । बिदेसिएका राजनीतिकर्मीलाई फिर्ताको वातावरण बनाउनुपर्ने माग राख्ने तिनै थापाले २०३३ मा मेलमिलापको नीति लिएर देश फर्किएका कांग्रेस नेता बीपी कोइरालालाई 'फाँसी'को माग राखेपछि निकै विवादित बनेका थिए ।
थापा नै हुन् जसले पञ्चायतलाई निर्दलीय बनाए- 'एकै देशमा दुईवटा नेता हुन सक्दैनन्' भन्ने नारा ल्याएर । दलीय पद्धति हुने हो भने धेरै नेता हुन्छन्, त्यसकारण राजा मात्र नेता हुन त दलविहीन पद्धति चाहिन्छ भन्ने उनले तर्क गरे ।
थापाकै मन्त्रिपरिषद्ले २०२३ माघ १४ मा पञ्चायती संविधानको पहिलो संशोधन गरी पञ्चायतको अघिल्तिर 'निर्दलीय' शब्द थपेको हो । त्यहीकारण २०४० पूर्व उनलाई निर्दलीय व्यवस्थाका मसिहा ठानिन्थ्यो ।
त्यतिमात्र होइन, उनले कांग्रेस नेतासँग भेटघाट गरेको अभियोगमा आफ्नै घनिष्ठ सहयात्री विश्वबन्धु थापालाई २०२२ मा जेलसमेत पठाए ।
'एक शब्दमा भन्दा थापा 'व्यवहारवादी' राजनीतिकर्मी हुन्' पञ्चायती कालखण्डलाई नियालेका पत्रकार हरिहर बिरहीले केही पहिले भनेका थिए । विरहीका शब्दमा, थापा रकमी र द्विअर्थी भाषा प्रयोग गरी परिस्थितिलाई आफ्नो काबुमा राख्न सक्थे ।
व्यवहारिक जोड-घटाउ गर्न सक्ने खुबी नै यिनको राजनीतिको सफलताको रहस्य बन्यो । सत्ताबाहिर हुँदा अति उदारवादी बन्ने उनै भित्र पसेपछि सत्ता टिकाउन जस्तोसुकै मूल्य चुकाउन पछि पर्थेनन् भनेर उनका निकटहरु बताउँथे ।

महाअभियाेगबाट हटाइएका प्रधानमन्त्री
२०४० असार २७ मा राष्ट्रिय पञ्चायतमा महाभियोग प्रस्ताव अत्यधिक बहुमतले पारित भएपछि थापा प्रधानमन्त्रीबाट बाहिरिए ।
त्यसपछि यिनले संवैधानिक पद्धतिबाहिरका भारदारविरुद्ध जेहाद छेडे । तिनै भारदारलाई शब्दावलीलाई केही समयपछि 'भूमिगत गिरोह'मा रूपान्तरित गरे ।
संवैधानिक तथा कानुनी परिधिभन्दा बाहिरका शक्ति तथा व्यक्तिहरू शासनतन्त्रमा हावी भएको र त्यही शक्तिले आफूलाई सिध्याएको निष्कर्षमा यो शब्दावली प्रयोगमा ल्याएका हुन् ।
'हो, मैले नै त्यो शब्द क्वाइन गरेको हुँ' केही समयअघि यो पंक्तिकारसँग थापाले भनेका थिए, 'बाहिर जे जति विरोध हुन्थ्यो, त्यो देखिने पात्र मात्र हुन् । योजनाकार त बेग्लै हुन्थ्यो । तिनीहरू दरबारसँग सम्बन्धित मानिस थिए । तर तिनीहरू कहिले पनि दृश्यमा आउँदैन थिए । तर शासन संयन्त्रलाई आफू अनुकूल 'म्यानुपुलेट' गर्थे । मैले तिनकै गतिविधि मूल्यांकन गरेर भूमिगत गिरोह भनेको हुँ ।'
धेरैले भूमिगत गिरोहको नाइकेको ज्ञानेन्द्रलाई शंका गर्थे । तर उनले त्यस्ता पात्रबारे खुलाउन चाहेनन् । उनकै शब्दमा, 'कचौराजस्तो काठमाडौं खाल्डोमा पात्रहरू को-को हुन् भन्ने सबैलाई थाहा थियो । गिरोहका पात्रहरू त बदलिइरहन्थे । भूमिगत गिरोहको त एउटा 'सिस्टम' नै बनेको थियो ।'
२०४० कै दशकतिर पञ्चतन्त्रको श्लोक 'मूसीको ब्याघ्रता प्राप्त...' कथा जोड्दै पञ्च नेताहरू यिनको खुबै आलोचना गर्थे । पञ्चहरू भन्थे- 'जब गए गुज्रेको मुसालाई ठूलो बनाइन्थ्यो, तब त्यसले मालिक नै खत्तम गर्ने इच्छा राख्दो रहेछ ।' मुसाले बाघ हुने अवसर पाउँदा झन्डै मुसीलाई सिध्याएको भन्ने कथा उनको हकमा लागू गर्ने प्रयत्नमा पञ्चहरू लागेका थिए ।
अन्तिममा उदारवादी
जब २०४० मा सत्ताबाट बाहिरिए, त्यसपछि थापाले 'उदारवाद'को वकालत गर्न थाले । त्यो व्यवस्थाको प्रखर विरोधीका रूपमा थापा नै देखिए । पञ्चायती सभा सम्मेलनमै उनी भन्थे, 'खुला र उदारवादको हावालाई कसैले रोक्न सक्दैन, व्यवस्थाको उदारीकरण अपरिहार्य छ ।' यस्ता शब्दावलीले उनको मुहारमा लागेको दाग पखालिन पुग्यो । सँगसँगै उनले आफूलाई उदारवादी नेतामा 'ब्रान्डिङ' गर्न सफल भए ।
'मरुभूमिमा अन्डीको रूख पनि महत्त्वपूर्ण मानिन्छ' विरही भन्छन्, 'त्यो पञ्चायती कालखण्डमा उदार विचार प्रकट हुनु पनि राहतको विषय मानिन्थ्यो । त्यसैले प्रजातन्त्रवादी वृत्तले थापाप्रति सद्भाव राखेको हो ।'
थापा जसरी राजनीतिक केन्द्रबिन्दुमा रहिरहे, त्यसरी पार्टीलाई संस्थागत रूपमा दिने मामलामा भने निकै पछि परे । पञ्चायतकै हस्तीलाई सामेल गरी राष्ट्रिय प्रजातन्त्र पार्टी बनाए । उनकै नेतृत्वमा विभाजन भयो । फेरि एकीकरण पनि भइरहे ।
उनलाई जम्माजम्मी तीन वर्ष मात्रै पार्टी अध्यक्ष पद मिलेन । २०५८ मा पोखरा महाधिवेशनले पशुपतिशमशेर राणालाई अध्यक्ष निर्वाचित गरेपछि उनको शिरबाट त्यो पद बाहिरिएको थियो ।
उनले फेरि राप्रपा विभाजन गरी २०६१ फागुनमा नयाँ पार्टी जन्माएर अध्यक्ष बने । गएकै जेठमा यिनी राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीको एकतासँगै फेरि पार्टी अध्यक्ष पद आफैंमा केन्द्रित गराउन सफल भए ।
उनी २०४८ काे आमनिर्वाचनमा पराजित भए, तर मध्यावधि चुनावसँगै फेरि संसदीय राजनीतिमा उदाए । कांग्रेसकै शिरमा टेकेर २०५४ असोज १८ मा यिनी संसदीय व्यवस्थाअन्तर्गत प्रधानमन्त्री बन्न सफल भए ।
राप्रपालाई स्वीकार गरे पनि एमालेले थापालाई रुचाएन । एमालेले पञ्चायती कालखण्डमा अनुदारवादी नेतामा 'ब्रान्डेड' लोकेन्द्रबहादुर चन्दलाई शिरमा राख्यो ।
त्यो दृश्यबाट रोमाञ्चित हुँदै थापाले भनेका थिए, 'राप्रपालाई वैधानिक रूपमा एमालेले 'पति वरण' गरिसकेपछि 'गर्लफ्रेन्ड'ले जस्तो नक्कली व्यवहार किन गर्ने ? एमालेको क्रान्तिको प्रतीकको रूपमा राप्रपा उभिएको बेला आज म हर्षले विभोर भएको छु ।'