ADS

Thursday, April 16

थापाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने आज सार्वजनिक बिदा

काठमाडौ, वैशाख ४ - सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टी गर्ने भएको छ । उनको भारतको नयाँ दिल्लीमा बुधबार राति निधन भएको थियो । मन्त्रिपरिषदको बिहीबार बसेको आकस्मिक बैठकले उनको शोकमा शुक्रबार सार्वजनिक विदा दिने, सरकारी कार्यालय तथा कुटनीतिक नियोगमा एक दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पञ्चायत र प्रजातान्त्रिककालमा गरी पाँच पटक प्रधानमन्त्री भएका ८९ वर्षीया थापाको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा पेटको शल्यक्रियापछि उपचाररत अवस्थामा निधन भएको हो । छ दशकदेखि राजनीतिमा सक्रिय थापा संविधानसभाका बहालवाला ज्येष्ठ सभासद थिए ।
उनको पार्थिव शरिर बिहीबार साँझ पौने सात बजे इन्डियन एयरफोर्सको बिषेश विमानबाट राजधानी ल्याइएको थियो । विमानस्थलमै श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधामन्त्री प्रकाशमान सिंह, स्वास्थमन्त्री खगराज अधिकारी गएका थिए । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा अध्यक्ष पशुपतिसम्शेर जबरा, नेता प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता अर्जुननरसिंह केसीलगायत पार्टी कार्यकार्ता र शुभेच्छुकहरु पनि विमानस्थल पुगेका थिए । विमानस्थलबाट थापाको श्रद्धाञ्जलीका लागि उनकै निवास मालीगाँउमा लगिएको राप्रपाका सहायक प्रवक्ता किरण गिरिले जनाए ।
 राप्रपाको बिहीबार बसेको आकस्मिक बैठकले थापाको पार्थिव शरिरलाई शुक्रबार बिहान १० देखि १२ बजेसम्म पार्टी कार्यालय चावहिल र दिउसो १ देखि ३ बजेसम्म दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि राख्ने निर्णय गरेको छ । दशरथ रंगशालाबाट राजकीय सम्मानका साथ नेपाली सेनाको टुकडीले सलामी दिएपछि उनको शव यात्रा सुरु हुनेछ । यसअघि निधन भएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई स्तरको राजकीय सम्मान थापालाई दिइनेछ ।
१९८४ मा धनकुटाको मुगामा जन्मिएका थापा निरंकुश पञ्चायती र बहुदलीय प्रजातन्त्रिक दुबै व्यवस्थामा उत्तिकै चर्चित रहेका नेता हुन् । सत्ता परिवर्तनको बेलामा संधै चर्चामा रहने थापालाई परिवर्तन स्वीकार्न सक्ने नेताको रुपमा धेरैले बुझ्ने गरेका छन् । पञ्चायती शासक ढल्ने बित्तिकै उनले राप्रपा पार्टी गठन गरी बहुदलीय अभ्यासमा लागेका थिए । उनी बहुदलकालमा २०५४ र ६० मा  प्रधानमन्त्री भए । थापाको पार्टी भने पटकपटक विभाजित भएको थियो । २०६२/६३ को जनआन्दोलनपछि मुलुक गणतन्त्रमा जाने तयारीमा लाग्दै गर्दा थापाले पनि त्यसलाई सहजै स्वीकारे । राजतन्त्र कि गणतन्त्र कुन बाटो लिने भन्ने निर्णय गर्ने बेलामा थापाले राजतन्त्रको मोह त्यागिदिए । त्यसैले पनि उनलाई धेरैले परिवर्तन स्वीकार्ने नेताका रुपमा सम्भिmने गर्छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले थापाको निधनमा बिहिबार शोक वक्तव्य जारी गर्दै एक महत्वकांक्षी, साहसी, दृढ निश्चयी, परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता गुमाएको उल्लेख गरेका छन् । प्रधानमन्त्री कोइरालाले थापाको निधनले 'आगामी दिनमा संविधान निर्माण गर्ने क्रममा थापा जस्ता अनुभवी राजनीतिज्ञको सुझावको अभाव खडकिइरहने' जनाएका छन् । काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, उपभापति रामचन्द्र पौडेललगायतका नेताले पनि थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । काग्रेसको तर्फबाट मुख्यसचिव ऋषिकेश तिवारीले छुट्टै शोक व्यक्तव्य पनि जारी गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले पनि थापालाई समयानुकल ढाल्न सक्ने गतिशिलताको पर्यायको रुपमा थापालाई चित्रण गरेका छन् । 'पाँच पटकसम्म मुलुकको प्रधानमन्त्री भएर उहाँले आफ्नो विशिष्ट राजनीतिक हैसियत र नेतृत्व क्षमतामात्रै प्रदर्शन गर्नुभएन, आफूलाई समयानुकूल ढाल्न सक्ने गतिशीलताको पर्यायका रुपमा समेत स्थापित गर्नुभयो' ओलीको शोक वक्तव्यमा छ, 'गणतन्त्रको स्थापनालाई सहजै स्वीकार गरेर उहाँले आफूलाई अन्ततः परिवर्तनको पक्षमा दृढतापूर्वक नै उभ्याउनुभयो ।' संविधानसभाबाट नयाँ संविधान जारी गरी २०६२/०६३ को परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गरेर अघि बढ्ने प्रक्रियामा  थापाको  निधनले मुलुकलाई नै गम्भीर क्षति पुगेको ओलीले उल्लेख गरेका छन् ।
राप्रपाको आकस्मिक बैठकले थापाको निधनले पार्टीमात्र नभई मुलुकलाई नै क्षति पुगेको निष्कर्ष निकालेको छ । बिषेशगरी संक्रमणकालिन अवस्थामा उहाको अभाव खडकिइरहने शोक व्यक्तव्यमा उल्लेख छ । राप्रपाले थापाको निधानमा १३ दिन सम्म कुनै औपचारिक कार्यक्रम नगर्ने र ७५ वटै जिल्लामा शोक र श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ । एमाओवादी नेता बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट थापाको निधनले एक युगको अन्त्य भएको उल्लेख गरेका छन् । संविधान सभा भित्र उनको अभाव सधैं रहिरहने भट्टराईले उल्लेख गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि शोक वक्तव्य जारी गर्दै थापाको निधनबाट मुलुकले उच्च व्यक्तिव्य भएको अभिभावक गुमाएको उल्लेख गरेका छन् । 'परिस्थितिको सटिक विष्लेषण गर्ने, समयलाई सहि ढंगबाट पहिचान गर्नसक्ने र आवश्यकता अनुसार निर्णय लिनसक्ने विचित्र क्षमता थियो' अध्यक्ष थापाले भनेका छन् ।  
पञ्चायतकालबाटै थापाका समकालिन राजनीतिज्ञहरु विश्वबन्धु थापा र पूर्वप्रधानमन्त्री चन्दले पनि उनको  व्यक्तिव्य र क्षमता अद्भुत रहेको टिप्पणी गरेका छन् । 'मेेरो मित्रवत् सम्बन्ध रहिरह्यो । जानेर बुझेर मात्र अघि बढ्ने उहाको खुबी थियो' २०१७ पुस १२ मा तत्कालीन राजा महेन्द्र मन्त्रिपरिषद्मा सँगै मन्त्री समेत भएका विश्ववन्धु थापाले कान्तिपुरसंग भने । पूर्वप्रधानमन्त्री चन्दले पनि थापालाई कर्मठ राजनीतिज्ञको रुपमा चिनेेका/बुझेका छन् । 'प्रशासकीय अनुभव र व्यवहारिक ज्ञान दुबैले खारिएको व्यक्ति हुनुहुन्थ्यो' चन्दले भने, 'त्यसैले उहाँ संधै चर्चामा रहनुभयो ।'
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थापाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०७२ वैशाख ४ ०५:४५ 

लोक सेवा आयोग